१८ वर्ष अगाडि आजकै दिन जननिर्वाचित संविधानसभाको पहिलो बैठकले घोषणा गरेको गणतन्त्रप्रति आम नागरिकहरुले आक्रोश व्यक्त गरेका छन्।
गणतन्त्र दिवसका अवसरमा सडकमा भेटिएका नागरिकहरुले गणतान्त्रिक व्यवस्थाले आम जनताको मन छुन नसकेको बताए।
सङखुवासभा खाँदबारीका काजबहादुर घिमिरे देशमा गणतन्त्र आएपनि केही फरकपन नआएको बताउँछन्।
गणतन्त्रले देशलाईपछि पारेको भन्दै उनले भने,‘नेताहरुले व्यवस्था अनुसार काम नै गर्न जान्नुभएन। विदेशीको आड–भरोसामा नै बाँच्ने देशका शासकहरुका कारण गणतन्त्रको अनुभुति हुन पाएको छैन। गणतन्त्र हुनुभन्दा राजसंस्था सहितको प्रजातन्त्र भयो भने हाम्रा भूभाग पनि फर्किन्छ। गणतन्त्रले सबैकुरा सिध्याइसक्यो।’
उनले पटक पटक चुनावका बेला जनताले विश्वास गरेको भन्दै सत्तामा पुगेकाले जनताको मनोभावना बुझ्न नसकेको बताए।
‘गणतन्त्र नेपालीले एक पटक स्वीकार गरेकै हो। सत्तामा पुर्याएको पनि हो। जनताले भोट पनि हालेकै हो। तर उहाँहरुको मनोभावना हप्काउने, डरत्रास देखाउने किसिमको भयो। चुनावको बेला अलि अलि पैसा खर्च गरेपछि भोट जितिन्छ भन्ने मानसिकता भयो।’

यसैगरी, अछाम घर भएका राजेश कुमार शाही अलि फरक मत राख्दै गणतन्त्रको विकल्प राजतन्त्र नहुने बताउँछन्। उनी भन्छन्,‘यो गणतन्त्र जनताको त्याग र बलिदानले आएको गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हुन्छ। राजतन्त्र हुन सक्दैन।’
यसैगरी, रामेछाप लिखुतामाकोशी गाउँपालिकाका जनप्रनितिधि समेत रहेका शिवप्रसाद न्यौपाने पनि राजतन्त्र नफर्किने र गणतन्त्रले नै जनभावना बुझ्ने बताउँछन्। उनी मरेका मान्छे फर्कनु र राजतन्त्र आउँछ भन्नु उस्तै हुने बताउछन्।
‘नेपाली जनताको ठूलो बलिदानपछि गणतन्त्र आएको हो। यतिकै आएको होइन। साढे १७ हजार नेपाली दाजुभाइ मारिए, आमाहरुको कोख रित्तियो। ठूला राजनीतिक दल मिलेर गणतन्त्र आएको हो। अब राजतन्त्र आउनु भनेको दिवा सपना देख्नु हो। राजतन्त्र यो मुलुकमा आउदैन। जस्तै वितिसकेका आमाबुवा फर्केर आउँछ भन्ने परिकल्पना गर्ने मात्र हो, सपनामा मात्र देख्ने हो,’ उनले भने।