किलियन एम्बाप्पे र जुड बेलिङ्घमको निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले ९ खेलाडीमा सीमित सेभियामाथि २–० को सहज जित निकालेको छ।
सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौ खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर ला लिगाका शीर्ष स्कोरवर एम्बाप्पेले ७५ औँ मिनेटमा २९औँ लिग गोल गरे।
त्यसपछि ८७ औँ मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे।
रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो। जब बार्सिलोनाले एस्पानियोलमाथि २–० को जित निकाल्दै आफ्नो २८औँ लिग उपाधि जितेको थियो। जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठुला ट्रफी बिना नै टुंग्याउनु परेको थियो।
सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन सङ्घर्षपूर्ण रह्यो। केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए। तर मङ्गलवार लास पाल्मासमाथि १–० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे।
तर यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झर्‍यो।
बेलिङघमको लव पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए।
कापारोसले दोस्रो हाफको सुरुवातमै रोमेरोलाई मैदानमा उतारे, तर उनले अरेलियन चुआमेनीमाथिको ट्याकलका लागि पहेँलो कार्ड पाएर केही सेकेन्डमै भारको निर्णयमा रातो कार्ड खाँदै मैदान छाडे।