ऊर्जामन्त्री खड्का दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्।
ऊर्जा मन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत शेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन्।
आफूले ऊर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।
सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताए।
यसैगरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना भएको औँल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिए।
एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरूले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे। उनले आगामी दिनमा आफूहरू जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए।