बेलबारी–११, लक्ष्मीमार्गस्थित माउन्ट एभरेष्ट ई. स्कुलले शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका नवआगन्तुक २ सयभन्दा बढी विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई भव्य स्वागत गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत करिब ४ सयभन्दा बढी सहभागीहरूलाई विद्यालय परिसरमा सम्मानपूर्वक स्वागत गरिएको थियो।
बुधबार आयोजित स्वागत समारोह विद्यालयको वार्षिक कार्यतालिकाअनुसार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, कविता वाचन लगायतका प्रस्तुति दिएर वातावरणलाई सांस्कृतिक र आत्मीय बनाए।
विद्यालयका प्रिन्सिपल जगतबहादुर बस्नेतले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयलाई प्रविधिमैत्री, सीपमूलक र संस्कारयुक्त शिक्षाको केन्द्र बनाउने प्रतिबद्धता जनाए। उनले भने, "हाम्रो लक्ष्य केवल किताबी ज्ञान होइन, व्यवहारिक सीप, प्रविधि र मानव मूल्ययुक्त विद्यार्थी उत्पादन गर्नु हो।"
कार्यक्रम विद्यालयका भाइस प्रिन्सिपल नवीनकुमार राईले सञ्चालन गरेका थिए। स्वागत मन्तव्य विद्यालयका लेखापाल सूर्य अधिकारीले राखेका थिए भने अभिभावकको प्रतिनिधित्व गर्दै ऋष्ता दुलालले मन्तव्य दिइन्। उनले विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था भएको बताउँदै आफ्ना सन्तानलाई त्यहाँ भर्ना गराउन पाउँदा आफू गर्वित भएको उल्लेख गरिन्।
माउन्ट एभरेष्ट ई. स्कुल बेलबारी नगरपालिकाबाट 'क' वर्गमा सूचीकृत विद्यालय हो र यहाँ कक्षा नर्सरीदेखि कक्षा ९ सम्म पठन–पाठन सञ्चालन हुँदै आएको छ।