जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। रूपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद गुरूङ जनमत पार्टीको समानुपातिक सांसद हुन्। उनी सदनमा कम उपस्थित हुने सांसदमा पर्छिन्।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख छ। ‘राष्ट्र देश जनताभन्दामाथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु।’
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सीके) ले सांसद गुरूङ पार्टीको सम्पर्कमा नरहेको बताए। ‘उहाँ सदनमा २५ प्रतिशत पनि उपस्थित हुनुभएको छैन। पार्टीको सम्पर्कमा हुनुहुन्न,’ उनले भने।
सांसद गीताका श्रीमान तथा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरूङ जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। कैलाशलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले गएको चैत ९ गते भैरहवामा पार्टी प्रवेश गराएका थिए।
श्रीमानले पार्टी छाडेपछि दबाबमा उनले राजीनामा दिएको हुनसक्ने आँकलन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले भने राजीनामाको आधिकारिक पत्र सचिवालयमा आइनपुगेको बताए।
सांसद गुरूङसँग यसबारे बुझ्न खोज्दा उनको मोबाइल स्विच अफ छ।
