सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरूसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन्।
उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच विभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरूको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौँ। १० ओटा स्थानीय तहहरूसँग त्रिपक्षीय सम्झौता भएको छ। म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
उनले यो सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृति प्राप्त भएपछि परियोजनाहरू सुरु हुने बताए।
‘नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ। निरन्तर सहयोग हुने कार्यक्रम हो,’ उनले भने।
उनले एउटा आयोजनाको हकमा अधिकतम २० करोडसम्म सहयोग हुने भन्दै विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता विषयमा सम्झौता भएको जानकारी दिए।