नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले अहिलेको सरकार समाजलाई रूपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन्। 
राजनीतिक अन्तरक्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव) लेफटाफट न्यूजसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यकता भएको बताएका हुन्।
उनले भने, ‘अहिलेको सरकार समाजलाई रूपान्तरण गर्ने कुरामा असफल देखिएको छ। अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू भयो। अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यकता पनि हो।’
साथै, उनले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असङ्ख्य जनता रहेको बताए। उनले नेपाली जनताको आवश्यकता समाजवाद भएको बताए। 
उनले भने, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असङ्ख्य जनता छन्। ७२ प्रतिशत जनता समाजवादको पक्षमा छन्। अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरी बौरिने प्रयत्न गरेको मात्रै हो। नेपाली जनताको आवश्यकता समाजवाद हो।’