होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेशका विभिन्न स्थानमा शनिवार होली पर्व मनाइको थियो। सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्। दुवै घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जनकपुरधाम २३ को विन्धीस्थित होली खेल्ने क्रममा विवाद हुँदा एक युवकले १८ वर्षीय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए। यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ।
यस्तै, मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार होली पर्वको दिन धनुषा र महोत्तरी गरी आठ स्थानमा सवारी दुर्घटना भएका छन्। आठवटै दुर्घटनामा परेर ९ जना घाइते भएको छ। प्रहरीका अनुसार धनुषामा भएको ४ सवारी दुर्घटनामा परेर ४ जना र महोत्तरीको ४ स्थानमा भएको सवारी दुर्घटनामा परेर ५ जना घाइते भएका हुन्।
यता प्रहरीले होली पर्वलाई ध्यानमा राखेर धनुषा र महोत्तरीमा गरी विभिन्न स्थानमा राखेको चेकिङ्ग प्वाइन्टबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा नियम उल्लङ्घन गर्दै चलाइएको कुल ९४ सवारी साधनलाई नियन्त्रणमा राखेर होल्डमा राखेको जनाइएको छ।
धनुषामा ८६ मोटरसाइकल र ४ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको थियो भने महोत्तरीमा चार मोटरसाइकललाई प्रहरीले होल्डमा राखेको थियो।