नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टङ्क धमाला ब्रिटिस फिल्ममा अभिनय गरेका छन्।
उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ। ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र भारतीय फिल्म ’एनिमल’ मा अभिनय गरेका अभिनेता धमालाले आफ्नो निरन्तरता र मेहनतको प्रतिफलका कारण नेपाली फिल्म हुँदै ब्रिटिस फिल्मसम्म पुग्न सकेको बताए।  
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रिन सेयर गरेका छन्।
उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन्। जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउँछन्। त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए। 
‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्नेदेखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरेँ। आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने। 
उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेका थिए। पात्रलाई तयार गर्न गरेको मेहनतले उनको अभिनयलाई चर्चामा ल्याएको हो। समीक्षकले राम्रो समीक्षा दिनुका साथै इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा टङ्कले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए। 
‘फिल्म सम्बन्धी अध्ययन गरेका कारण पनि कलाकारितालाई म निरन्तरता दिइरहेको छु। नेपाली फिल्मसँगै भारतीय र ब्रिटिस फिल्ममा काम गर्ने क्रममा मैले उनीहरूको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ। यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमालाले भने। 
उनले ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा सर्वोत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ। पेसाले चार्टर एकाउन्टेन्ट भएता पनि उनले फिल्म सम्बन्धी अध्ययन गरेर मोडलिङ सुरु गरेका थिए। सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसकेका छन्।
उनलाई ‘सरौतो’ पछि केही नेपाली फिल्ममा समेत अभिनय गर्ने प्रस्ताव गएको थियो। यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन्। यद्यपि अब उनी नेपाली फिल्मको लागि पनि तयार भएको बताउँछन्। 
‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैँले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाँधिएको थिए। तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु। सङ्ख्यात्मक भन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने।ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङ फोर्ड एसोसियटसँग आबद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन्। उनी नेपालीसहित भारतीय र ब्रिटिस फिल्ममा देखिने तयारीमा छन्। यद्यपि आपसी सम्झौताले गर्दा आफूले उक्त विषयमा चर्चा गर्न नमिल्ने उनको भनाइ छ। उनले ओटीटीका लागि समेत कन्टेन निर्माण गरिरहेका छन्।