मोरङको बेलबारीमा अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीले लेखेका 'उपद्रष्टा हर्कमान तामाङ' पुस्तक लोकार्पण भएको छ।
आज बुधबार बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह-आयोजनामा उक्त पुस्तक लोकार्पण एक समारोहका बीच उद्घाटन भएको हो।
कोशी प्रदेश सांसद् मा.ज्ञानेन्द्र सुवेदीको प्रमुख आथित्यता तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा लोकार्पण गरिएको हो।
बेलबारी नगरपालिकाले गत वर्ष साहित्य विकासका लागि १५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो।
दर्जनौं पुस्तकहरू खोज तथा अनुसन्धान गरी प्रकाशित गरेका कृतिकार केशु विरहीले यस पटक बेलबारी क्षेत्रका शैक्षिक तथा राजनैतिक व्यक्तित्व हर्कमान तामाङको योगदान बारे खोज अनुसन्धान गरी प्रकाशित गरेका छन्। उक्त पुस्तक विक्री भएको ५० प्रतिशत रकम बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ खर्च गरिने उद्देश्य राखिएको बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले उल्लेख गरे। यसैगरी, बेलबारी साहित्यको विकासमा भाषाविद अमृत प्रसाद आचार्यले कृतिकार विरहीले निरन्तर खोज र अनुसन्धान गरेर विशिष्ट योगदान दिएको बताए। बेलबारी क्षेत्रमा शैक्षिक, राजनीति, साहित्य विकासका लागि शैक्षिक अभियान्ता हर्कमान तामाङको विशिष्ट योगदानको चर्चा गरिएको थियो। बेलबारी क्याम्पस प्रमुख भूपेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राखेका थिए।
उक्त समारोहमा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उप -प्रमुख नितु थापा कोईराला, पूर्व सांसद हर्कमान तामाङ', विनोद ढकाल, साहित्यकार मिश्र वैजयन्ती, भाषाविद अमृत प्रसाद आचार्य, समिक्षक डा. दिपक न्यौपाने, अनुवादक तथा साहित्यकार छवि विरही विभिन्न साहित्यिक, शैक्षिक अभियान्ता तथा राजनैतिक व्याक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
