‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका छैनन्। सङ्ख्यात्मक हिसाबले ठुलो सङ्ख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्स अफिसमा उत्साह देखिएको छैन।
जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन्। प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन्।
मङ्सिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो। गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो। सेलाएको यो उत्साह र ओरालो लागेको बक्सअफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने सिनेमाको बिजनेस हो।
तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै : टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएको चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ। जाडोसँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयं लाज शरणमको टिमको विश्वास छ।
चलचित्र ‘लाज शरणम्’को टिमले यति बेला गरिरहेको आक्रामक प्रचार, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार फर्काउने विश्वास गर्न सकिन्छ।
चिनिएका फेस जस्तै : सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारका कारण पनि यो चलचित्र दर्शकको रोजाइमा पर्न सक्छ।
बालेनको गीतले ‘लाज शरणम्’लाई ती आम दर्शकसम्म पुर्‍याएर थप हाइप बढाएको छ। यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गर्नेमा निर्माण पक्ष ढुक्क छ। चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। ‘सक्किगोनी’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।
‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो। फागुन १४ गते महाशिवरात्रिको दिन यो चलचित्र रिलिज हुनेछ।