इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ।
सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो। जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे।
प्रतियोगिता अन्तर्गत मङ्गलवार चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच अन्तिम क्वाटर फाइनल खेल हुनेछ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेता लाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ।