नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक हुन पुगेको बताएका छन्। 
समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसद्को समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन्। 
उनले भने,‘ दुई पार्टी सत्तामा छन्, उनीहरूमा दम्भ सवार भएको छ। त्यो दम्भ सवार भएकाले संविधान, कानुन, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ। कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन्। तर असत्य धेरै दिन टिक्दैन। सबैलाई थाहा छ। संसद्को समितिमा विचाराधीन भएका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन। कानुनको खुलेआम उलङ्घन गरेर सरकार अगाडि बढेको छ। कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक हुन पुगेको छ।’
उनले संसद्को बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए। 
उनले भने,‘संसद्को नियमित अधिवेशनमा कानुनमा सुधार गर्नु छ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद् नै छलेर संसद्को बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिँदैन।’ 
उनले पार्टीबाट जानेहरू घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए।