भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकहरूको सनाखत भएको छ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै माघ ९ गते भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात जना नेपाली नागरिकको सनाखत भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार दुर्घटनामा परी कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछाम मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, अछामकै कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी र डन्डुवा बाँकेका राधेश्याम राधको ज्यान गएको हो।

माघ ९ गते साँझ करिब ५ बजेर ५ मिनेट जाँदा भारतको महाराष्ट्र राज्यमा पर्ने जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै रेल दुर्घटना हुँदा सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन र घाइतेहरूको शीघ्र उपचार गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका चार जना नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।