खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकेर पानी माग्न सिंहदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन्।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टनबाजी गर्ने भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए।
उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन्। समस्या धेरैतिर छ। तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन। मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो। हामी काम गरेर देखाउँछौ। अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु। ’
त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए। ठुलो बजेट भएकाले एडिबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए।
‘अहिलेका मेयरले पनि एकदमै मेहनत गर्नुभयो। अलि अलि पानी त ल्याउनुभयो। त्यतिले पुग्दैन। तीन वटा वडामा पनि पुग्दैन। पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नुभयो। सङ्घले आफ्ना नागरिकलाई पानी दिन आतुर छ। प्रधानमन्त्री र म बीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ। करिब छ अर्बको बजेट छ हामीसँग। त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौँ। एडिबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ। किनकी ठुलो बजेटको कुरा छ। छलफल गरिसकेको छौँ। त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौँ।’
त्यस्तै उनले पहिला पनि निवर्तमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे।
उनले भने,‘धरानमा पानीको समस्या पहिलेदेखि नै थियो। धरानका डाँडाकाँडामा समस्या धेरै नै थियो। धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी खुवाइरहेको थियो। तर मेयरसाबले बहादुरी देखाउनुभयो। यो संस्थानबाट पानी लिन्न आफैँ सक्षम छु भन्नुभयो। संस्थानको सबै अधिकार आफ्नो मातहतमा लिनुभयो तर सक्नुभएन।’