पोखराको पृथ्वी चोकमा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ। उक्त चोकमा कसको सालिक राख्ने भनेर आन्दोलन र असहज परिस्थितिबीच गत वर्ष त्यहाँ सहिद थापाको सालिक राखियो। तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक राखिनुपर्छ भन्ने अभियन्ताहरूले जुनसुकै हालतमा अबको एक वर्षभित्र पृथ्वी चोकमा शाहको सालिक स्थापना गर्ने उद्घोष गरेका छन्।
पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा राष्ट्र गौरव अभियानले शनिवार आयोजना गरेको एकता सभाका वक्ताहरूले पृथ्वी चोकमा अरूको सालिक राखिन नहुने बताए। कार्यक्रमका कतिपय वक्ता यो विषयमा बोल्दा निकै आक्रामक प्रस्तुत भए।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सालिक राख्ने विषयमा जातीय हिसाबले जानुभन्दा सुरक्षित अवतरण गरिनुपर्ने बताए। ’अभियानलाई जातीयता नभड्किने हिसाबले सेफ ल्यान्डिङ गर्नुपर्छ,’ उनले भने, ’प्रदेश सरकारले पनि आगामी दिनमा छलफल गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
पृथ्वीनारायण शाहको दुर्दर्शितालाई आत्मसात् गर्दै सामाजिक न्याय, विकास र समाजलाई एकीकृत गर्न सकिने उनले बताए। देशका वर्तमान समयका चुनौतीलाई सामना गर्न पनि एकताको भावना आवश्यक रहेको मन्त्री थापाको भनाइ थियो।
सभाका प्रमुख वक्ता इतिहासविद् प्रा.डा.रमेश ढुङ्गेलले सालिक हटाएर इतिहासको विनाश गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे। इतिहासको विरोध गर्न नहुने र त्यो छुट कसैलाई नभएको उनले जिकिर गरे। ’अर्को वर्ष वा अबको १÷२ वर्षमा यहाँ ठुलो सालिक ठ्डाउनै पर्छ। इतिहासको विरोधमा जान कसैलाई छुट छैन,’ उनले भने।
सालिक मात्र नभएर देश एकीकरण गरेकाले एक हजार रुपैयाँको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखिनुपर्ने उनको भनाइ थियो। पृथ्वीनारायण शाहले स–साना राज्यलाई एक बनाएकाले साम्राज्यवादी भन्नु गलत भएको ढुङ्गेलले बताए। शाहलाई उनले ’असल र कुशल डिक्टेटर’को रूपमा व्याख्या गरे।’आजको नेपाल बन्न असम्भव थियो। चेतनशील दिमागले सतर्कता अपनाएका कारण सम्भव भएको हो। यो मुलुक नेपाली काङ्ग्रेस, नेकपा एमाले सबैलाई हो,’ उनले थपे, ’पृथ्वीनारायण शाहजस्तो डिक्टेटर नभएको भए एकीकरण सम्भव थिएन। उहाँ असल र कुशल डिक्टेटर हो।’
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङले राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक राखिन नहुने बताए। ’त्यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक थियो। सालिक छैन तर हिजो आज र भोलि पृथ्वी चोक नै हो। राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक नराखौँ। यो दुवैको अपमान हो,’ उनले भने।
सहिद लखन थापाको सालिक नयाँ ठाउँमा स्थानान्तरण गर्न सांसद गुरुङले पोखरा महानगरपालिकालाई आग्रह गरे। ’सहिद लखन थापालाई नयाँ ठाउँमा सालिक निर्माण गर्न स्थानीय सरकारलाई अनुरोध गर्दछु। यो अनुरोधलाई हलुका र बेवास्ता गरेमा त्यसको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने छ,’ उनी आक्रोशित बने। भारतमा महात्मा गान्धीको सरकारी तवरबाटै सम्मान हुने तर नेपालमा पृथ्वीनारायण शाहको योगदानको कदर नभएको सांसद गुरुङको भनाइ थियो।
विश्व हिन्दु महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले राजाले बनाएको राजमार्ग हिँडेर, राजाले बनाइदिएको सिंहदरबारमा बसेर त्यो व्यवस्थालाई निरङ्कुश भन्नु इतिहासको अपमान गर्ने काम भइरहेको बताए। ’राजाले बनाइदिएको राजमार्ग प्रयोग गर्छौ, सिंहदरबारमा शासन गर्छौँ। निरङ्कुश व्यवस्था थियो भन्छौँ। अनि हामी कहाँ छौ? इतिहास मेटाएर, भत्काएर कस्तो देश निर्माण गर्न गइरहेका छौ?’ उनले प्रश्न गरे।
राष्ट्र गौरव अभियानका प्रवक्ता अरुण गिरीले पृथ्वी चोकमा सालिक राख्न सरकारलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरिएको गुनासो गरे। आगामी वर्षको जन्म जयन्तीसम्म जुनसुकै हालतमा पृथ्वीनारायण शाहको सालिक पृथ्वी चोकमा राख्ने उनले उद्घोष गरे। ’आगामी वर्ष पृथ्वी चोकमा सालिक बनाएर त्यसमा माल्यार्पण गर्न पाइने आशा छ। ३०४ औँ जन्म जयन्ती मनाउँदा अर्थात् एक वर्षभित्र पृथ्वी चोकमा सालिक राख्न हामी आजैदेखि लाग्ने छौँ,’ उनले भने। प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पृथ्वी चोकमा पृथ्वीनारायण शाहको सालिक बनाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको प्रवक्ता गिरीले गुनासो गरे।
अभियानका सहसंयोजक गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासङ्घ कास्की अध्यक्ष जगन्नाथ कोइराला, ठकुरी सङ्गम परिवार कास्की अध्यक्ष यामबहादुर हमाल, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीलगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए। एकता सभा कार्यक्रमको सञ्चालन अभियानका सचिव अर्जुन खनालले गरेका थिए।
सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृह चोक हुँदै पृथ्वी चोकसम्म झाँकीसहितको र्याली निकालिएको थियो। कार्यक्रमका लागि पृथ्वी चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो। उक्त प्रतिमा सालिक स्थापना नहुँदासम्म आफूहरूले नहटाउने अभियानका सचिव अर्जुन खनालले बताए।




















