कोशी प्रदेश सरकारले पहिलोपटक गर्न लागेको लगानी सम्मेलन निर्धारित मितिमा नहुने भएको छ।

सरकारले आउँदो माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने जनाएको थियो। तर व्यवस्थापनको जिम्मेवारीका विषयमा विवाद भएपछि लगानी सम्मेलन स्थगित भएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अहिलेकै स्थितिमा तोकिएको मितिमा लगानी सम्मेलन हुने सम्भावना नरहेको बताए।

लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण गरिएको थियो। यस्तै, व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालयसमेत सञ्चालन गरिएको थियो।

मुख्यमन्त्री कार्कीले उद्योग सङ्गठन मोरङलाई व्यवस्थापनको जिम्मा दिने तयारी गरेका थिए। तर अन्य उद्योगीले यसको विरोध गरेका थिए।

पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरमा लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने तय गरिसकेको थियो। ती ३७ आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रहेको छ।

जसअनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन्।

यस्तै, १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको १ वटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन्।