नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
अहिले उक्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। नेकपा एमालेले दुई ठुला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।
‘नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका बिचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो। राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौँ।’ प्रतिवेदनमा भनिएको छ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिस्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौँ।’
साथै सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन्। बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिएका थिए।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो। संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’ मा ठोस धारणा तय गर्ने छ।