पोखराबाट अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।
गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागूऔषध गाँजा ६०० ग्राम, NITRAVET–१० नाम उल्लेख भएको लागूऔषध १९९ चक्की र मोवाईल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अबैध लागूऔषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ ।
उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.कलाई अबैध लागूऔषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।
पक्राउ परेका जना लागूऔषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।