हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। हुम्लामा यसवर्ष यो तेस्रो पटक हिमपात भएको हो।

शनिवार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ।

हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका नागरिकको जनजीवन प्रभावित बनेको छ। हिमपात भइरहेकाले स्थानीय चिसोले घर बाहिर निस्कन सकेका छैनन्।

हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ। यस्तै, अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो।

किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराको भनाइ छ। यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।