सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ। रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो।
राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले भने,‘अब राजविराज छायामा पर्ने छैन। विमानस्थललाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ। यहाँको प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन्।’
मन्त्री पाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहु आयामिक प्रभाव पार्ने बताए। उनले विविधतापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे। उनले राजविराजबाट सिधा पोखरालगायत गन्तव्यमा उडान गर्ने गरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए। यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए।
यो सँगै रात्रिकालिन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ। भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालिन उडान भइरहेको छ ।राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो। राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ। लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट वि.सं. २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको थियो। उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो।