भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन्।
मङ्गलवार काठमाडौँमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लङ्घन भएको कारण समस्याहरू देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए।
उनले भने, ‘सहकारीका समस्या र यसको समाधानबारे मैँले अनुभूति गरेको छु। हामीले नीति, नियम, विधि, परिधि र कानुन सबै बनाउँछौ। तर त्यो बनाएर मात्र हुँदैन। व्यवहारमा कति लागू गर्छौ र आफ्नो कर्तव्यलाई कति पूरा गरेका हुन्छौ, अनुशासनभित्र छौँ कि छैनौ भन्ने मुख्य विषयको अध्ययन हुनुपर्छ। सहकारी ऐन २०७४ मा आयो त्यो ऐनभित्र रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन। कतै न कतैबाट उल्लङ्घन भयो र त्यसैको कारणले समस्याहरू देखा परेको हो। त्यसैले, जिम्मेवारी के हो, सहकारीको उद्देश्य के हो त्यस अन्तरगत जाने कुरामा कति प्रतिबद्ध छौ, त्यो हेर्नुपर्छ।’
यस्तै, उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनुपर्ने भन्दै सहकारीप्रति जुन भ्रम फिँजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए।
उनले भने, ‘विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना गर्नुपर्छ। अहिले सहकारीप्रति जुन भ्रम फिँजाइएको छ, यसलाई हामीले सहकारी सही हो भनेर प्रमाण गर्न अझै बढी लाग्नुपर्ने हुन्छ। सन्देशमूलक तरिकाबाट सबै जनताको बीचमा पुर्याउन जरुरी छ। त्यस कारण हामीले पहिला यतातिर ध्यान दिन जरुरी छ। यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ। हाम्रो प्रचारमा नै कमी भएको छ।’
यसका साथै, सहकारी राम्रो तरिकाले चल्यो भने मात्र राष्ट्रमा स्थिरता, जनताको आर्थिक अवस्थामा सुधार र व्यावसायिक रुपमा विकास हुनसक्ने भन्दै यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए।