नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन्।‘महिला हिंसा विरुद्ध म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताएकी हुन्।
उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिति छ भनेर हरेक पुरुष साथीले भाषण गर्नुहुन्छ, राजनीतिमा महिलाहरुलाई शारीरिक भन्दा पनि मांनसिक हिंसा धेरै हुन्छ। त्यो मानसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न। हामीले निरन्तर लडाँइ गर्नुपर्छ। हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन्। सबैभन्दा मुख्य कुरा राजनीति हो। सबै कुराको कमाण्ड राजनीतिले गर्छ। ’
साथै उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन्।
उनले भनिन्, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन्। महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन्। तर म जुन समय महिला सभापति भए त्यो समयको अनुभव मलाई थुप्रै छ। उमेरको हिसाबले म सानो सबैभन्दा सानो थिएँ। मन्त्री,सासंद सबैले मलाई छोरी भन्नु हुन्थ्यो। तर पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घर-घरमा पुग्थे। अहिलेका सभामुख कोही घर-घरमा पुगेको सुन्नु भएको छ ?’
साथै उनले राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरु गरेको बताइन्। उनले राजनीतिक दललाई एक नगरीकन र एक ठाउँमा नल्याईकन बनाइएका कानूनहरु दिगो नहुने बताइन्।