कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरी उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो।
यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो। उक्त म्याद सकिएपछि उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।
काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले पहिलोपटक ६ दिन म्याद दिएको थियो। दोस्रोपल्ट सात, तेस्रोचोटि १० र चौथोपटक १३ दिनको म्याद दिइएको थियो।
पाँचौँपल्ट म्याद थपपछि उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ। उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका निम्ति अदालत लगिएको थियो। पूर्वडीआईजी जोशीमाथि पनि १५ दिन म्याद थप भएको छ।