नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले एडुभर्स २०२४ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि आयोजना गरिने यो मेला नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख शहरहरूमा सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्।
ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रु पौडेलका अनुसार, मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउनेछन्। यस शैक्षिक मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। मेला इटहरीबाट सुरु भई विभिन्न शहरहरूमा आयोजना हुनेछ । नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ। आयोजकका अनुसार, यी प्रमुख शहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ ।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीले पनि अधिकांश शहरका मेलामा उपस्थिति जनाउनेछन् । ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ । विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् । आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ । यस मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्नेछ ।