संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको भल्भो टिपर बुधबार साँझ दुर्घटना हुँदा २ जना भारतीय मजदुरको मृत्यु भएको छ।
दुर्घटनामा २ जना भारतीय नागरिक घाइते भएका छन्। अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा आफैं अनियन्त्रित भएर एचपी ११–४९३३ नम्बरको टिपर साँझ ७ बजेतिर दुर्घटनामा परेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए। उनका अनुसार टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो।
दुर्घटनामा परेर टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको छ।उनीहरुको उपचारका क्रममा चिकित्सकले बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन्।
दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन्। दुवै जना टिपरमा सवार थिए। गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइको छ।