गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।
सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राखे।
उनले भने,‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ। विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ।’
उनले आउँदो अधिवेशनबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पुर्‍याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन् जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ।’