बागमति प्रदेश, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले अब आउने नयाँ नीतिमा सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने कुरालाई सम्बोधन गर्ने बताएका छन्। 

शुक्रबार नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित तिहार फ्लोरा एक्सपो–२०८१ को उद्घाटन गर्दै उनले सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने र बजेटको कुरा अर्को पटकको प्रदर्शनीमा उठाउनुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

उनले भने, ‘सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्नको लागि जुन कुरा उठाउनु भएको छ अब आउने नयाँ नीतिमा त्यो कुरा अलि अलि सम्बोधन भएको छ। अर्को वर्ष आउने नीतिमा सबैलाई चित्त बुझ्ने गरि सम्बोधन गर्ने छु। यसमा ढुक्क भए हुन्छ। यसको साथै बजेटको कुरामा पनि अर्को पटकको प्रदर्शनीमा बजेटको कुरा उठाउनु पर्ने अवस्था नआउने पनि विश्वास दिलाउन चहान्छु।’

यस्तै, उनले व्यवसायमा लागि सकेपछि रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्ने भन्दै त्यसमा तीन वटै सरकारले सहयोग गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘यो व्यवसायमा लागि सकेपछि कमसेकम रोजि रोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नु पर्छ त्यसको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकार तीन वटै सरकारले सहयोग गर्न आवश्यक छ। हामी त्यो गर्न तयार छौ यो कुरामा म सबैलाई विश्वस्त गर्न चहान्छु।’

पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सक्षम हुनु पर्ने भन्दै यसतर्फ सोच्न सबैलाई आग्रह गरेका छन्। 

उनले भने, ‘पुष्प, जडिबुटि, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा यो देशलाई अगाडि बढाउन सक्षम हुनु पर्छ। हामीले गरेका कामले रोजगारी सिर्जना हुनु पर्छ। युवाहरुलाई बाहिर पठाउने होईन, हाम्रो उत्पादनहरुलाई पठाउन सक्षम हुनुपर्छ जसको कारण हामी आर्थिक रुपले पनि सम्पन्न हुन्छौ र नेपाललाई पहिचान दिन पनि सक्छौ। यसतर्फ सोच्न सबैलाई आग्रह गर्न चहान्छु।’