कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागेको हो।

आइतबार कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो। निजी क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ।

कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो। त्यहीअनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश लगानी प्राधिकरणले यसको समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ। प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न ३ करोड बजेट छुट्याएको छ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ।

प्रदेशका सम्भावित आयोजननको क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ। साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ।

पीपीपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले बताए।