प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ।
लैनचौर फुटसल मैदानमा बुधवार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो। १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गरेका थिए।
वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नं. १६ को ५ गोल भएको हो। वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरेका थिए। 
उपाधिसँगै विजेता टोली वडा नं. १६ ले दुईलाख रुपैयाँ प्राप्त गर्‍यो।उपविजेता वडा नं. १२ ले एक लाख रुपैयाँ पुरस्कार पायो। वडा नं. १६ का आयुष कुँवर सर्वोकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने।
यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने। उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो। 
असोज एक गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) खेल मैदानमा गएका थिए।
खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरेका थिए। 
२०८० सालबाट प्रतियोगिता सुरु भएको हो। यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरू सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टीमले भाग लिएको थियो। नकआउटका आधारमा भएको खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो। 
दोस्रो खेलमा वडा नं.९ ले वडा नं. २७ लाई २–० गोल अन्तरले पराजित गयो। वडा नंं ९ का लागि दुवै गोल मिङ्मा लामा तामाङले गरेका थिए। यसमा मिङ्मा नै म्यान अफ द म्याच घोषित भए। 
तेस्रो खेल वडा नं. ६ र ११ का बिचमा भएको थियो। यस खेलमा वडा नंं ६ ले ११ लाई ३—२ गोल अन्तरले पराजित गर्‍यो। वडा नं. ६ का लागि विप्लव लामा, दीपेश श्रेष्ठ र केशव भण्डारीले १/१ गोल गरेका थिए। वडा नं. ११ का लागि जनक कोइराला र रितेश महतोले गोल गरेका थिए। खेलमा वडा नं.६ का केशव म्यान अफ द म्याच घोषित भए। 
खेल शुभारम्भ गर्दै उपप्रमुख डङ्गोलले, स्वास्थ्य र सकारात्मक सोचका लागि खेलको ठुलो भूमिका रहेको उल्लेख गरिन।‘खेल जस्तै अनुशासन र स्वच्छ प्रतिस्पर्धा अन्य पेशाका लागि उदाहरण हो।’ डङ्गोलले भनिन्, ‘फुटसल संस्कृतिले युवाहरुलाई गलत काममा लाग्नबाट बचाएको छ।’
प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वास्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताए।
शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताए। प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ।