प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ। यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ। त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो। यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ।’

यता, सरकारका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रूलिङ विरुद्धमा गएर माओवादीले संसद् अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथि र निष्ठामाथि नै प्रश्न उठ्ने दाबी गरे। 

उनले सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने भन्दै प्रश्न गरे। 

‘निर्णय गर्ने अन्तिम अधिकार सम्माननीय सभामुखलाई छ। सभामुखको रूलिङ सबैले मान्नुपर्छ। नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ। त्यसको खिलाफमा माओवादी संसदीय दलले त्यो निर्णयलाई नसच्याएसम्म आन्दोलन गर्ने,हाउस चल्न नदिने जुन कुरा गर्नुभयो यो बेठिक छ। यसले माओवादीको संसदीय प्रणालीमाथी नै उसको निष्ठामाथि नै प्रश्न उठेको छ। यो विषय फिर्ता लिनुहोस् भनेका छौँ। सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने ?’,बर्तौलाको भनाइ थियो।