युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् । 

बुधवार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको स्वागत कार्यक्रममा उनले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए। 

उनले भने, ‘संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ। त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई खेलको विकासमा काम गर्न अनुरोध गर्दछु।’

यसैगरी, उनले आफू मन्त्री बनेको ४० दिनभएको र यस अवधिमा खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको भन्दै यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने बताए। 

कार्यक्रममा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले नवनियुक्त खेलकुदमन्त्री चौधरीलाई सम्मान पत्र प्रदान गरेका थिए। 

सोही क्रममा श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबीच समन्वय हुनु आवश्यक भएको बताए। 

यसैगरी, एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको बताएका थिए। 

खेलकुदमन्त्री चौधरीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई पनि स्वागत कार्यक्रममा आमन्त्रित गरिएको थियो। उनी कार्य व्यवस्तताका कारण उपस्थित भएका थिएनन्। 

सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो।