देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । 

टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । 

यसले हैजा थप फैलन नदिन र संक्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदि केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४/२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।