अग्रजलाई आदर सम्मान र सानालाई माया गर्ने नेपाली समाजको संस्कृति नै हो । आफ्ना आमाबुबा तथा हजुरआमा हजुरबुबा सरहका वृद्धवृद्धाहरुसँग भेट्ने, समस्या बुझ्ने साथै समानुभूति र सहयोग गर्ने असल तथा जिज्ञासु विद्यार्थीको विशेषता नै हो , यही विशेषतालाई चरितार्थ गरेका छन् इटहरी उपमहानगरपालिका वडा नं २मा अवस्थित शान्तिनगर इङ्ग्लिस स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले माया घर नेपालमा रहेका अग्रजहरुसँग भलाकुसारी गरेर । उमेर पाको हुँदै जाँदा परिवारका सदस्यहरुको हेला र हाँसोको पात्र हुनुपरेपछि आफनै घर छोडेर वा सन्ततिहरु नभएपछि हेरिदिने मानिस नहुँदा जीवन काट्न कति सकस पर्दोरहेछ भन्ने कुराका बारेमा र त्यस्ता सामाजिक संस्थाहरुले कसरी सहयोग पुर्याइरहेका हुन्छन् भन्ने विषयमा जानकारी हासिल गर्ने र सक्दा्े सहयोग गर्ने हेतुले विद्यार्थीहरु त्यहाँ गएका थिए ।
कोसी प्रदेशभित्रबाट मात्रै होइन मधेश र वागमति प्रदेशबाट पनि आश्रय विहीन आमाबुबाहरुलाई ल्याएको, स्थानीय तह एवम् प्रहरी प्रशासनबाट सिफारिससहित आएकालाई राख्ने गरेको र हाल १४३ जना रहेको भनी विद्यार्थीहरुको प्रश्नको उत्तर दिँदै माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिएकी थिइन् । समाजका विविध पाटाहरुलाई प्रत्यक्ष र स्थलगत अवलोकन गरी शिक्षा प्रदान गर्ने उद्देश्यले नियमित रुपमा विद्यार्थीहरुलाई कक्षा कोठाभन्दा बाहिर लगेर शिक्षा प्रदान गर्ने नीतिअनुरुप यो अवलोकन भ्रमण गरिएको भनी शिक्षक टेकेन्द्र ढकालले बताए । यो विद्यालयले फरक ढंगले सिकाइलाई अवलम्बन गरेको भन्दै सहभागि विद्यार्थीहरुले उत्साह व्यक्त गरेका थिए । साथै विद्यार्थीहरुले फलफूल, विस्कुट र खाद्यन्न सहयोग पनि गरेका थिए ।
फेटो फिचर