कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ। यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो।

बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो। प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो। त्यस्तै, बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिनुभयो।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उहाँको भनाइ छ। “प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ। तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ। थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ।”