कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र शुक्रबार बाहिरिने भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि एमालेसँगको सहकार्य तोड्न माओवादी बाध्य भएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल साथ नछाड्न माओवादीलाई भन्दै आएका थिए। तर, केन्द्रीय सत्ता समीकरण नै फेरिइसकेपछि कार्कीको आग्रह निरर्थक बनेको हो।

सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित चार जना सामेल थिए। जसमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्य राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण नारायणबहादुर बुर्जा मगर र पर्यटन राज्य मन्त्रीमा बन्दना झाँगड थिए। चारै मन्त्रीले शुक्रबार राजीनामा दिने माओवादी स्रोतले जनाएको छ।

माओवादी सत्ता बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस प्रवेश गर्ने छ। कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे कांग्रेसभित्र अझै टुंगो लागिसकेको छैन। नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले सरकारमा सामेल हुने विषयमा शुक्रबार साँझ एमालेसँग संवाद गर्ने जनाए।