नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारहरूको सङ्ख्या न्यून रहेको बताएका छन् । 

आज (सोमबार) भएको मिडिया एडभोकेसी ग्रुप (म्यान) र हाई कमिसन अफ क्यानडाद्वारा संयुक्त  रूपमा आज आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’  विषयक दुई दिने गोष्ठीमा उनले  बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिक रिपोर्टिङको कुरा गर्दा खेरी हाम्रो जस्तो देशमा सबैभन्दा बढी पोलिटिक्सको समाचार नै अपडेट भइरहेको हुन्छ,सबैभन्दा ठुलो भूमिका खेल्नै बिट नै राजनीतिक रिपोर्टिङ हो । यसमा महिलाहरूको सङ्ख्या धेरै भएन भने त्यहाँ ठुलो तप्का निर्माण गर्न सकिँदैन । ’

साथै उनले राजनीतिक रिपोर्टिङ भन्दा अरू रिपोर्टिङ कम हुने बताए । उनले यो कुरा विभिन्न रिसर्चहरूले देखाएको समेत दाबी गरे । बढी इभेन्टहरू पोलटिक्ससँग जोडिएको पनि उनले बताए । 

उनले भने, ‘इभेन्टहरू पोलटिक्सको नै वेस्ट हुँदा खेरी नै त्यो  क्षेत्रभित्र वर्ग, जात, धर्म सबै अटाएको छ की छैन भनेर हामीले खोज रिपोर्टिङ गर्ने हो । राजनीतिक विषयमा महिलाहरूको धारणा के छ ? सबै वर्गहरूको धारणा के छ ? यो सबै हामीले क्यारी गर्न सक्यौँ की सकेनौँ, एउटा प्रतिबिम्ब देखाउन सक्यौँ की सकेनौँ भन्ने आधारमा नै हामीले  रिपोर्टिङ गर्ने  हो । ’ उनले यो क्षेत्रमा महिला पत्रकारहरूको सहभागिता सशक्त रहेको बताए ।