प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन्। 

उनले भने,‘सिंगोदेश चरम निराशामा छ। ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ। अघिल्लो सरकार स्टन्टबाज भयो। थुन्ने अनि सुन्ने काम भएकाले व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन। व्यवसायीहरु मरिच झैं चाउरिएका छन्,त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लागेको हो।’

साथै उनले १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको बताए। 

उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको जिकिर गरे। यस्तै उनले निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन्।