बेलबारी ः मोरङको बेलबारी नगरपालिका ३ स्थित राधाकृष्ण खोरिया टोल विकास संस्थाले स्थानीय खोरिया खेल मैदानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बाढी र कटानबाट खेल मैदानलाई जोगाउनुका साथै मैदानसँगै रहेको बाटोलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको टोलका अध्यक्ष लिलाप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबडिभिजन वन कार्यालय बेलबारीबाट प्राप्त जामुन, निम, मसला, सिरिस, बेल, धुपी, तेजपत्ताजस्ता आठ प्रकारका एक सय ९० थान बिरुवा मैदान वरपर रोपिएको हो । सो स्थानमा एक हजार थान बिरुवा रोप्ने योजना रहेको बताउँदै अध्यक्ष आचार्यले चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजना अनुसार वृक्षारोपण कार्यक्रम अगाडि बढाइएको उल्लेख गरे । बाँसका बिरुवालाई विशेष महत्व दिई वृक्षारोपण गरिने उनको भनाइ छ ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले वृक्षारोपण बहुउपयोगी कार्यक्रम रहेको बताए । काठका लागि बिरुवा नष्ट गर्ने प्रवृत्तिका कारण पृथ्वीको तापक्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले यसले पारिस्थितिक पद्धतिमा दूरगामी असर पर्ने धारणा राखे । वृक्षले संसारलाई बचाउने भन्दै नगरप्रमुख राईले अक्सिजन, फल, फूलजस्ता फाइदाजनक चिजबाट आयआर्जन गर्ने अवसर पनि बिरुवाले दिने बताए । औषधीय गुण भएका जडीबुटीले जीवनरक्षामा समेत योगदान गर्ने भएकाले वृक्ष सबैका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

phlala

टोलका अध्यक्ष लिलाप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । सोही वडाका वडा सदस्य चन्द्रबहादुर राई, सामाजिक व्यक्तित्व रिक्तबहादुर गुरुङ, बिजुली मालपोत टोलका अध्यक्ष चुडामणि अधिकारी, धिमाल प्रथम जाति व्यवस्थापन समितिका सचिव टिक धिमाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।