बेलबारी : मोरङको बेलबारी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पर्ने जङ्गल क्षेत्रमा बौद्ध धर्मावलम्बीहरूका लागि बनाइएको दाहसंस्कारस्थल उद्घाटन गरिएको छ । १५ लाख ६० हजार नौ सय ६३ रुपियाँको लागतमा बनेको दाहसंस्कारस्थल बुद्ध जयन्तीका अवसरमा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले रिबन काटेर शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन्।

buddha1
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख राईले मानवीय जीवनशैलीको परिष्कारका लागि बुद्धको दर्शन महत्वपूर्ण रहेको बताए । विभिन्न जातीय समुदायमा मौलिक रितिअनुसार मृतकको दाहसंस्कार गरिँदै आएको भन्दै उनले समाधीस्थल व्यवस्थापनमा राज्यको ध्यान भने कम पुगेको बताए । सचेतना, संस्कार र ज्ञानका कारणले अरु प्राणीभन्दा उत्कृष्ट प्राणीको दर्जा पाएको मानवजातिले मात्र शव व्यवस्थापन गर्ने गरेको उल्लेख गर्दै उनले आफूलाई अरु प्राणीभन्दा फरक बनाउन योगदान गर्ने गुणलाई मानवजातिले कदर गर्नु आवश्यक रहेको धारणा राखे । आफू निर्वाचित भएपछि बेलबारी नगरका विभिन्न ठाउँमा तीनओटा दाहसंस्कारस्थल निर्माणका लागि डीपीआर तयार गरेको नगरप्रमुख राईले जानकारी दिए ।

buddha3दाहसंस्कारस्थल निर्माण गराएको नेपाल बुद्धिष्ट गुम्बा दाहसंस्कारस्थल निर्माण समितिका कोषाध्यक्ष नारायण गुरुङले २० लाख ६० हजार एक सय २८ रुपियाँ सङ्कलन भएकोमा हालसम्म १५ लाख ६० हजार नौ सय ६३ रुपियाँ खर्च भएको र चार लाख ९९ हजार एक सय ६५ रुपियाँ आयोजनाकै नाममा बैङ्कमा मौज्दात रहेको जानकारी दिए । दाहसंस्कारस्थल निर्माणका लागि नगरपालिकाले चार लाख रुपियाँ अनुदान दिएको उनको भनाइ थियो ।
दाहसंस्कारस्थलमा दुईओटा शव जलाउने स्थान, दुईओटा शौचालय, एउटा स्नानघर, मलामी विश्रामस्थल, लामा पाठ घर र कपडा जलाउने स्थान निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।
उद्घाटन कार्यक्रमकै अवसरमा ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।