भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रु ६० देखि रु ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिनुभयो। उहाँले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति भएमा बीउ उत्पादकले नै क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरिएको बताउनुभयो। 

धानको उत्पादन तथा बीउमा गुणस्तर नियन्त्रणका लागि उत्पादकसँग सम्झौता गरी वितरण गर्न लागिएको भन्दै भद्रपुर पहिलो नगरपालिका भएको कृषि अधिकृत विमलीले दाबी गर्नुभयो। उहाँका अनुसार नगरभित्रका किसानको मागका आधारमा २९ हजार आठ सय ८० किलो धानको बीउ खरिद गरी अनुदानमा वितरण गरिरहेको छ।

कृषि विकास शाखाका अनुुसार लल्का बास्मती, सुक्खाधान–३, बहुगुणी–१, बहुगुणी–२, सुद्धोधन कलानामक, साँवा मसुली सव–१, रामधान, स्वर्णा सव–१ र राधा–१२ जातका धानको बीउ खरिद गरिएको हो। कृषि अधिकृत विमलीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बीउबिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न धानको बीउवितरण गरिएको हो । उहाँले किसानका मागका आधारमा औसतमा ३० किलोसम्म बीउ उपलब्ध गराइरहेको जानकारी दिनुभयो।

कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन नगरपालिकाले समयसमयमा अनुदानमा बीउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ।