सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ वर्षीय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० वर्षीय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
गोली लागि घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भईरहेको छ। भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।