नेपाली टोलीले मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सेपाकताक्रो विश्वकपमा सहभागिता जनाउने भएको छ। विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरे। 

मन्त्री श्रेष्ठले नेपाली टोलीलाई विश्वकपमा उच्च मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए। रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन्। 

नेपाली टोलीको प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन्। शनिवारदेखि सुरू हुने विश्वकपमा २१ राष्ट्रको सहभागिता रहने बताइएको छ। नेपाल प्रतियोगिताको डिभिजन ‘एक’ मा रहेको छ। नेपालको समूहमा नौवटा राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ।