ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने भएको छ। मौलिक हस्तकलालाई संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घले प्रतियोगिता गर्न लागेको हो।
यही जेठ ३ देखि ७ गतेसम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सो प्रतियोगिता गर्न लागेको महासङ्घले जनाएको छ। पछिल्लो पुस्तामा हराउँदै गएको हस्तकला डोको तथा टपरी बुन्ने परम्परा लोप हुँदै गएपछि यसको संरक्षण गर्न प्रतियोगिता गर्न लागिएको घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला सचिव हर्कराज गुरुङले बताउनुभयो। गुरुङका अनुसार प्रतियोगिता महोत्सवको तेस्रो दिन अर्थात् जेठ ५ गते औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको तथा टपरी बुन्ने प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। डोको बुन्ने प्रतियोगतामा प्रथमलाई रु सात हजार, दोस्रोलाई रु पाँच हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु सय प्रदान गरिने घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष भारतीले जानकारी दिनुभयो।
उहाँका अनुसार टपरी बुन्नेतर्फ पहिलोलाई रु तीन हजार, दोस्रोलाई रु दुई हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु दुई सय उपलब्ध गराइनेछ। कृषि मेलाअन्तर्गत कृषि उपकरण प्रदर्शन, जिल्लाभित्र तथा बाहिरका कृषक र उद्यमीले उत्पादन गरेको वस्तुसमेत ल्याइने भारतीको भनाइ छ। उत्कृष्ट कृषक तथा उद्यमीलाई पुरस्कृत गर्नेसमेत महासङ्घको तयारी रहेको बताइएको छ।
स्थानीयस्तरमै उत्पादित वस्तुको बजारीकरणको प्रमुख उद्देश्यका साथ सुरु गरिएको मेलामा डोको क्यारी रन पनि समेटिएको महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो। यस रनका लागि वीरेन्द्र चोकबाट सुकेटारस्थित सानोपाथीभरा पुगेर पुन वीरेन्द्र चोकसम्म आइपुग्नुपर्ने आयोजकले जनाएको छ। क्यारी रनमा प्रथम हुनेले रु ३० हजार, दोस्रोले हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार प्राप्त गर्नेछन्। चौथोदखि दसौँ स्थानसम्मका प्रतियोगिलाई रु एक हजार उपलब्ध गराइने महासङ्घले जनाएको छ।