आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ। सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो।
६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने बताएका थिए।
तर, त्यसविपरीत स्लेम्यानको २ महिनामै मृत्यु भयो। शनिबार अस्पताल र उनका परिवारका स्लेम्यानको मृत्यु भएको पुष्टि गरेका छन्।
अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टिमले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट आफू निकै दुःखी बनेको बताएको छ।
यद्यपि अस्पतालले ती व्यक्तिको मृत्यु सुँगुरको मिर्गौला प्रत्यारोपण गरेकै कारण भएको भन्ने कुनै संकेत प्राप्त नभएको पनि जनाएको छ।
स्लेम्यान सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने विश्वकै पहिलो जिवित व्यक्ति थिए। यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको मानिसमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो। अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो। यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो।