बेलबारी : मोरङको बेलबारी नगरपालिका क्षेत्रबाट एसईई परीक्षामा सामेल भई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीलाई लक्षित गरी फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

एसईई परीक्षा दिएर बसेका स्थानीय विद्यार्थीहरूकै सक्रियतामा वैशाख १५ गतेदेखि एसईई कप २०८१ फुटबल प्रतियोगिता सम्पन्न गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक निखिल खत्रीले जानकारी दिए। उनका अनुसार एसईई परीक्षाको नतिजा आउन लाग्ने करिब तीन महिनाको समयमा प्रायः विद्यार्थी बेरोजगार रहने हुँदा उनीहरू लागूऔषध दुव्र्यसनजस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न हुनसक्ने खतरा कम गर्ने उद्देश्यले प्रतियोगिता सम्पन्न गरिएको हो।

IMG_2670प्रतियोगितामा जनता नमुना माध्यमिक विद्यालय, सकटार फुटबल क्लब, जधा फुटबल क्लब, कबिर माध्यमिक विद्यालयको एसईई २०८० समूह, सिंहदेवी मावि, महेन्द्र मावि, जनता मावि र क्रिस्टल माविबाट २०८० सालमा एसईई परीक्षा दिएका विद्यार्थीका समूहहरूले भाग लिएका थिए।

IMG_2677वैशाख १९ गते सम्पन्न फाइनल प्रतिस्पर्धाबाट सिंहदेवी माविको एसईई समूहले प्रथम स्थान प्राप्त गर्यो भने कानेपोखरी माविको एसईई समूहले दोस्रो स्थानमा चित्त बुझायो।

प्रतियोगिताका विजेता टोलीलाई नगद १० हजार रुपियाँका साथमा ट्रफी र मेडल तथा उपविजेता टोलीलाई नगद पाँच हजार रुपियाँका साथमा ट्रफी र मेडल प्रदान गरी पुरस्कृत गरिएको थियो। प्रतियोगिता प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना गर्दै जाने आयोजकले जनाएको छ।