मोरङको मनमोहन गान्धी मार्ग तीन दिनदेखि अवरुद्ध भएपनि अझै सञ्चालनमा आउनसकेको छैन।
मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे–९ स्थित महेन्द्रचोकमा सडक अवरूद्ध गरेका थिए। ह्युम पाइप, ढुङगा र काठलगाएर सडकअवरूद्ध गरिएको र निर्माणको काम फेरि सुरूहुने सुनिश्चितता नहुँदासम्म अवरोध कायमै रहने सडक सङ्घर्ष समितिका सहसंयोजक सुमन वनेमले बताउनुभयो।
यसअघि सङ्घर्ष समितिले गत मङ्सीर १३ गते पनि सडकअवरुद्ध गरेको थियो। निर्माण कम्पनीका प्रतिनिधि दीपक थिङले तीन महिनाभित्र काम सम्पन्न गर्ने सहमतिपछि त्यसबेला सडक सञ्चालन गर्न दिइएकामा सो सहमति कार्यान्वयन नभएकाले पुनः अवरोध गर्नुपरेको वनेमले जानकारी दिनुभयो। पथरीशनिश्चरेस्थित २५ किलोमिटर लम्बाइ र ६० फिट चौडाइ सडक निर्माणको ठेक्का रु एक करोड ९४ लाख ९४ हजारमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पाएको छ। निर्माण कम्पनीले करिब दुई वर्षदेखि सडक निर्माणको काम नगर्दा स्थानीय आक्रोसित छन्।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नं ६, ८, ४, ९ र १० का स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति गठन गरी सडक निर्माण गर्न दबाब दिँदैआएका छन्।