सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताउनुभएको छ।
गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आर्थिक र जनशक्ति व्यवथापनको हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउनसके गोरखापत्र संस्थानको भविश्य उज्वल रहेको उहाँको भनाइ छ। मन्त्री शर्माले भन्नुभयो, “गोरखापत्रलाई उज्वल, प्रतिस्पर्धी र अगुवा पत्रिका बनाउन नयाँ ढङ्गले सोच्नुपर्छ।”
उहाँले नेपाली पत्रकारिता क्षेत्रको जननीका रुपमा रहेको गोरखापत्रको गौरवपूर्ण इतिहास, ऐतिहासिक भूमिका र विरासत रहेको बताउनुभयो। “विभिन्न कालखण्डको प्रत्यक्षदर्शी, ऐतिहासिक सामग्रीको सङ्ग्रह र नेपाली भाषा, साहित्यको संरक्षण र सम्वद्र्धनमा गोरखापत्रको भूमिका महत्वपूर्ण छ। नेपालको राजनीतिक आर्थिक र सामाजिक रुपान्तरणमा पत्रकारिताबाट गोरखापत्रले पु¥याएको योगदान अविस्मरणीय रहेको छ”, उहाँले भन्नुभयो।
सूचना र सञ्चारको पछिल्लो विकासले यसलाई विधागत र प्रविधिगतरुपमा अझै फराकिलो दायरामा बिस्तार गरेको उल्लेख गर्दै उहाँले गोरखापत्र र यसका अन्य प्रकाशनलाई विधागत र प्रविधिगतरुपमा सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो। आममानिसमा बिस्तार हुँदै गएको सूचना पहुँच र सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने उहाँको भनाइ थियो।
“नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको गोरखापत्रको इतिहास जति गौरवशाली छ, वर्तमान र भविश्यमा पनि यसलाई कायम राख्नु चुनौतीको विषय हो”, उहाँले भन्नुभयो, “बजारमा प्रतिस्पर्धीका साथै अगुवा पत्रिकाका रुपमा स्थापित गर्न, आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ।”
गोरखापत्रले सरकारका आधिकारिक समाचार सम्प्रेषण गर्नाका साथै सरकार र जनताका बीचको पुलको काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले सरकारका राम्रा कामबारेमा जनताको बीचमा पु¥याउने तथा जनता गुनासा र अपेक्षा सरकारसमक्ष पुयाउने गरी सरकारी सञ्चारमाध्यमले कार्यक्रम बनाउनुपर्ने बताउनुभयो।
“सरकारी सञ्चारमाध्यम जुन विरासतबाट आए, त्यो जनमानाको विरासतका आधारमा सरकारी सञ्चारमाध्यम सरकारका मजनमण्डलीका रुपमा स्थापित भए। सरकारका गुणगान गाउने बाहेक जनताको भाषा बोल्न छाडियो”, उहाँले भन्नुभयो, “तर आज हामी समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौँ। त्यसकारण गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ।”
उहाँले संविधानसभाबाट जारी संविधानका उपलब्धिका बारेमा पनि सरकारी सञ्चारमाध्यमले पनि जनतासमक्ष लैजानुपर्ने बताउनुभयो। विगतमा राजनीति र पत्रकारिता क्षेत्र सँगसँगै भएर राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तनपछाडि प्राप्त अधिकार कार्यान्वयनमा पनि सञ्चार जगत्ले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो।
गोरखापत्र र यसका सहप्रकाशन भावि पुस्ताका लागि बौद्धिक सम्पत्ति भएको जनाउँदै उहाँले यसको संरक्षणका लागि गोरखापत्रले थालनी गरेका प्रयास सरहानीय रहेको बताउनुभयो। प्रतिस्पर्धी बजारमा आफूलाई खरो रुपमा उतार्न जिम्मेवार, व्यावसायिक र विश्वसनीय भएर प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आलोचनात्मक चेतसहितका सामाचार सागम्री गोरखापत्रमा प्रकाशित हुन थालेकामा सन्तुष्टि व्यक्त गर्दै त्यस्ता विषयलाई थप प्राथमिकता दिइनुपर्ने बताउनुभयो । गोरखापत्र सरकारको मुखपत्र नहोस् भन्नेमा सरकार र व्यवस्थापनले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले सम्पादकीय स्वतन्त्रताको उच्चतम् अभ्यास गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्ने बताउनुभयो। पछिल्लो समय प्रकाशित समाचार हटाउने, समाचार स्रोतलाई समेत पक्राउ गर्ने हर्कतले प्रेस स्वतन्त्रतामा गम्भीर आघात पुग्ने उल्लेख गर्दै अध्यक्ष पोखरलेले यसबारेमा चिन्ततमनन् गरेर अघि बढ्न सुझाव दिनुभयो।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको इतिहासमा गोरखापत्र साक्षी रहेको बताउनुभयो। गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले सूचना मात्रै नभई ‘सत्य र विश्वसनीय सूचना’ दिन क्रियाशील रहेको बताउनुभयो।
सो अवसरमा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको ‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गर्नुभयो। उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । कार्यक्रममा गोरखापत्र संस्थानका उत्कृष्ठ कर्मचारी राजेश चाम्लिङ राई, जुजुकाजी रञ्जित र सङ्गीता खड्का, उत्कृष्ट पत्रकार सरोज ढुङ्गेल, नायक पौडेल र मनोजरत्न शाही तथा २५ वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो।