विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उक्त शिविरमा ३५२८ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो।

संघीय सांसद डा. सुनिल कुमार शर्माको पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारस्थित गान्धी अस्पतालमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले गत वैशाख १३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो। उक्त शिविरमा १७८३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ। 

उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न बिरामीहरूको थप उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार हुने छ। उनीहरूले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नवीन दाहालले बताए।

त्यस्तै मिति २०८१ वैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थित उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना बिरामी लाभान्वित भएका छन। वैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त अवसरमा ८७० जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो। जनसम्पर्क अधिकृत नवीन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका बिरामीहरूको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सहुलियतमा उपचार हुने छ।