जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा दुईजना युवा(युवती मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर छन्।

उक्त गेस्ट हाउसको कोठामा मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबै जनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए। कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

उनीहरु दुवैजना ४ दिनदेखि उक्त होटलमा बसेका थिए। तर उनीहरू दम्पती नरहेको पनि धनुषा प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।